बालबालिकाले जीवन पढ्ने कहिले?
१. १५-१६ महिनाको उमेरदेखि विद्यालयको आँगन टेक्न बाध्य हाम्रा भविष्यका पिंढीले जीवन पढ्ने कहिले? केही मन्टेस्वरी तहका अपवादलाई छोडेर २ वर्ष नपुगेका नानीहरूको हात समाएर कलम चलाउन सिकाउने काममा व्यस्त छन् हाम्रा ‘प्ले ग्रुप’का कक्षाहरू/ त्यसपछि एबीसीडी शुरु/ अनि होमवर्क/
२. जति कक्षा बढ्दै गयो उति पुस्तकको भारी / क्लासवोर्क र होमवर्कको चंगुलमा फसेका यस्ता बालबालिकाको अन्य विकासको पाटो सधैं पछाडि पारिएको छ/
३. अचेल बालबालिकालाई पढाई भनेको होमवर्क पूरा गर्ने हो भन्ने बलियो धारणा छ/ स्कूलबाट फर्किए पछि खाजा पनि राम्ररी खान नपाई होमवर्ककै चटारो/ अनि पुस्तक कैले पल्टाउने? पाठ्यपुस्तक बाहेकको अतिरिक्त अध्ययन कैले गर्न पाउने?
४. बिहान ७ बज्नु अघि नै बस स्टप/ नजिकको विद्यालयमा पठाउँदैनन् अभिभावक, खै किन? यसको लागि सरकारले पनि ‘स्कुल जोन’को अवधारणा ल्याउनै पर्छ/ अहिले एक डेढ घण्टा जान र त्यति नै आउन गर्दा ३ घण्टा बसमै थकान/ त्यसमाथि विद्यालयमा हुने शारीरिक सजायको पीडा/ घरमा भन्दैनन् बालबालिका किनभने थप सजाय भोग्नु पर्ने डर /
५. शनिवार पनि होमवर्ककै चिन्ता नत्र आइतवार सजायँ पाइन्छ/ बाबुआमासँग रमाउने कहिले? बाजेबजैको कथा सुन्ने कहिले? घर सिक्ने कहिले? परिवार सिक्ने कहिले? छिमेक सिक्ने कहिले? समाज सिक्ने कहिले? साथीसँग खेल्ने कहिले? जहाँ जीवन प्रत्यक्ष जोडिएको हुन्छ/
६. झन् कक्षा १० र कक्षा १२ का विद्यार्थीको कन्त बिजोग छ/ बिहान ६ बजे देखिनै कोचिङ कक्षा शुरु/ पेलान नै पेलान/ पिंजडाका सुगा बनाईएका छन् बालबालिका/
७. खालि बौद्धिक खुराकले मात्रै जीवन बोल्दैन/ शारीरिक, मानसिक, संवेगात्मक, र सामाजिक विकासको पाटो अलपत्र छ/ परीक्षामा पाएको अंक नै जीवन ठान्ने प्रवृत्ति हटाउनै पर्ने हुन्छ विद्यालयले तर ती माछा बजार बनेका छन्/ राष्ट्रिय शिक्षा नीति पनि अंक प्रधान नै छ अहिलेसम्म/ के राज्यले यसमा पहल गर्नु नपर्ने?
८. विकल्प के? सोचेजस्ता भेटिन्नन् वैकल्पिक विद्यालयहरू, छिमेकीको देखासिकी, समाजको देखासिकी मात्रै, नयाँ सोच कसरी पलाउने? गुणस्तरीय शिक्षाका लागि बस चढेरै जानुपर्ने र महँगो विद्यालय नै रोज्नुपर्ने भ्रमबाट अभिभावक मुक्त हुनैपर्छ/
९. हाम्रै परिवेशभित्र पनि बाल विकासमा ध्यान दिने विद्यालय खोजे पाउन सकिन्छ तर ज्यादै कम, चाहे ती सार्वजनिक होऊन् वा निजी/ त्यताबाट सिक्ने कि? भलै उनीहरूको जस्तो सुविधा सबै विद्यालयमा नहोला तर कोशिस गरेर शिक्षा रूपान्तरण तर्फ जानै पर्छ / केही वर्ष लाग्ला प्रयास खेर जाँदैन /
१०. पहिलो पाईला हामी आफूबाटै शुरू गरौँ / सकेसम्म घर नजिकको विद्यालयमा भर्ना गरौँ / बेला बेला विद्यालयमा सम्पर्क गरेर सोधौं र विद्यालयमै जाऔं / आफ्ना केटाकेटीसँग विद्यालयभित्रको गतिविधि बारे खुलेर कुरा गर्ने वातावरण बनाऔं / चित्त नबुझेका कुरामा विद्यालयलाई घच्घचाउने गरौँ/ आफ्ना नानीहरूलाई जीवन पहिला पढाऔं/
Tags
शिक्षा सम्वन्धि
